धमिलो सम्झना छ मलाई, यो भित्तोमा परिचित दीपक के खड्कासँग महिनौं अघि १/२ पटकभन्दा बढी च्याट सम्वाद भएको थिएन । उहाँ घरदेश आउने बताए पछि मैले मोवाइल नम्वर पनि दिएको थिएँ । भेट भो, एकैचोटी लाँकुरी भञ्ज्याङमा- उहाँ काठमाण्डौ भित्रेको महिनौ भै सक्या रै छ । एक हातमा क्यामरा अर्को हातमा पुस्तक । अरुलाई पुस्तक दिएको देखेको थिएँ, मेरो भागमा पनि होला भन्याथें, मलाई के था आदर्शको झोलामा २/२ वटा पुस्तक परी सकेको । एउटा उहाँले दिनु भारै छ, अर्को सावी बहिनीले । लेख्नमा मुड चाहिंदैन, पढ्नमा अली मुढी नै छु- मुड चाहिन्छ ।
राजधानीको बिजुली निदाएको बेला डा. दीपक खड्काको लघु उपन्यास (?) च्यात्न नसकेको चिठी अनाम प्रेमिका (कुशा) ले प्रषित गरेको पहिलो पत्रझैं एकै सासमा पढें । कौतुहलपूर्ण दर्शनले भरिएको पत्रात्मक कृति पढ्दा अढाई घण्टा बितेको पत्तै भएन । सत्र वर्ष अघिको पाण्डुलिपिलाई आकार दिएकोमा डा. खड्कालाई बधाई । केही गजल र अरुका रचनामाथिको खरो टिप्पणीबाटै डा. खड्का भित्र पक्कै केही छ भन्ने थियो मलाई । नभन्दै रै छ पनि । यस उपन्यासमा खड्काको शैली यति प्रञ्जल छ कि- मलाई लागेको जस्ताको तस्तै भने भनें- डाक्टरको चाकडी गरेको ठहर्छ । मेरा अनन्य मित्र होमराज आचार्यले कितावमा जे छ, इमान्दारी पूर्वक लेखेका छन् । "यो छोटो उपन्यासमा मानवीय मस्तिष्कभित्र उर्लिने र मत्थर हुने अनेक प्रकारका संवेदनशील सम्भावनाहरु विशाल समुद्रको गर्भभित्र निर्मित पहाडजस्तै छन्, जसलाई सतही आँखाले होइन सतह
विच्छेद गरेर हेर्नु पर्ने देखिन्छ।" हो यो उपन्यास, मित्र होमराजजीले भनेजस्तै छ ।