उसको अनुहार एका एक फूलजस्तै फक्रियो । आँखा सन्काउँदै, टाउको हल्लाउँदै भनी- "मिल्छ, माइ डियर ! तिमीलाई सबै कुरा बताउन मिल्छ । नेपालको मेरो नाउँ शारदादेवी हो, तर मलाई यो नाउँ मन पर्दैन । त्यसैले मैले आफूलाई स्यान्ड्रिया बनाएँ । "ओ प्लिज ! मलाई तपाइँ नभन । तिमी भन ।" मभित्र भुतभुते खनिए जस्तो भयो र पनि मनमनै हाँसेँ । मनको हाँसो सायद मेरो अनुहारमा फेरि कताकता पोतियो होला ! उसले अनुमान लाउँदै भनि- "तिमीलाई मेरो कुरा मन पर्यो र त तिम्रो अनुहार हँसिलो भयो -" म केही बोलिन । फेरि सोधेँ- "अनि किन अँग्रेजीमात्र बोल्नु भएको ?" मेरो हात समाउँदै भनी - "सरी, मैले नेपाली सबै विर्सिएँ !" यो जवाफ सुनेर म एका एक छाँगाबाट खसेजस्तो भएँ । तातो झिरले घोचेजस्तै मुटु घोच्यो उसको यो अन्तिम वाक्यले ।
***
सृष्टिको अनुपम सृजनाको स्वरुप नारी, त्याग र तपस्याकी प्रतिरुप नारी, उत्सर्गको उपमा नारी, प्रेमको आधार र स्रोत नारी ! त्यो नारीको श्रद्धा, सुधा, शक्ति, लज्जा, दया, माया, छाया,
दातृ, भातृ र मातृरुपका ती सुन्दर स्वरुप सम्झेँ । अनि, त्यही नारीको यो विरुप / विभत्स रुप ! यो कल्कीरुप ! म जुरुक्क उठेँ र भनें- मिस शारदादेवी उर्फ स्यान्ड्रिया, तिमीले सोचेजस्तो म्याराथन धावक म नहुन सक्छु ..... ! वाक्य पुरा नगर्दै म हिडेँ । उ निधारम गाँठौ पार्दै अँग्रेजीमै फ...फ... के के उच्चारण गर्दै थिई, म हिडेको हिड्यै भएँ । अहिले त्यही स्यान्ड्रिया शाम्भवीजस्तै सम्झिरहनु नपर्ने गरी मेरो मस्तिष्कमा सधैं नाचिरहेकी छे ।
_______________________________________________________
जैमली कथा सङ्ग्रहको पाण्डुलिपि भित्रको "कल्की" कथाको एक अंश । शिवप्रकाका कथा भिडियो हेरझैं लाग्यो ।